३ महिनामा ५ खर्बकाे वैदेशिक व्यापार, २ खर्ब घाटा

काठमाडाैं। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सो अवधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागद्वारा मंगलबार (हिजाे) जारी चालु आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालु आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले वृद्धि भइ ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ पुगेको छ ।
गत आवको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको ३ महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ : ११.९७ छ ।
सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो ३ महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ ।
गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब चार करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएकामा चालू आवमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ ।
चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
गत आवको पहिलो तीन महिनामा व्यापार घाटा दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ थियो । चालू आवको पहिलो ३ महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ । रासस

प्रतिक्रिया