‘म पदमा रहुन्जेल राजनीतिक दबाबलाई प्राथमिकता दिन्न’

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाबहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् ।
मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको बताएका हुन् ।
सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दबाबहरुलाई पदमा रहुन्जेल प्राथमिकता नदिने प्रतिवद्धतासमेत व्यक्त गरे ।
मन्त्री पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे। उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखि बनाउनसमेत आफू लागिपर्ने बताए ।
मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै-पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भइरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे ।
छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो भने अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखि बनाउनुपर्नेमा जोड दिन आग्रह गरेका थिए ।
मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सुर्य पौडेललगायतका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया