भोलि नै सरकार गठन गर्ने गठबन्धनको तयारी

नेपालखोज २०७८ कार्तिक १० गते १८:५७

मकवानपुर । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुधबार साँझ बुझाएका छन् ।

उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड ‘क’ बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका हुन् ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भए पश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए । गठबन्धनले भोलि नै सरकार गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्रस्तावित मुख्यमन्त्री पाण्डेले बिहीबार ४ सदस्यीय सरकार गठन गर्ने भएका छन् । कांग्रेसका उपनेता कृष्णलाल भडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुने सम्भावना छ । बाँकी मन्त्रिमण्डल तिहारपछि मात्रै विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया