दर्ता नै नगरी सहकारी संचालन, बचतकर्ताको २ करोडभन्दा बढी डुब्याे

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा दर्ता नै नभएको सहकारीमा रकम जम्मा गर्दा सर्वसाधारण बचतकर्ताहरुको दुई करोड २५ लाख रुपैयाँ रकम डुबेको छ ।
काठमाडौंको पेप्सीकोलामा केन्द्रीय कार्यालय रहेकाे सराफी बचत तथा ऋण सहकारी संस्था नाम गरेको उक्त सहकारीले पेप्सीकोलामा सहकारी विभागमा दर्ता नै नगरी कारोबार गर्दै आएको थियो ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहरमा उक्त सहकारीका अध्यक्ष राजकुमार श्रेष्ठको मृत्यु भएसँगै उक्त सहकारीमा बचत जम्मा गर्ने सयौं बचतकर्ताहरुको झन्डै दुई करोड २५ लाख रुपैयाँ बचत डुबेको हो ।
बचतकर्ताहरुको रकम हिनामिना गर्ने उक्त सहकारीका केही सञ्चालकहरु भने हाल फरार रहेको पीडित बचतकर्ताहरुले बताएका छन् । कात्र्तिक १० गते बुुधबार उक्त बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरु सञ्चालकहरुलाई कारबाही र आफ्नो बचत रकम फिर्ता गर्नुपर्ने मागसहित सहकारी विभागमा उजुरी गर्न गएका थिए ।
तर उजुरी गर्न जाँँदा पो उक्त संस्था सहकारी विभागमा दर्ता नै नभएको तथ्य खुल्यो, पीडित बचतकर्ता राजन लुईटेल भन्छन् । लुईंटेलका अनुसार अध्यक्ष श्रेष्ठको मृत्यु भएको खबर पाँए, अहिले मेरो यो संस्थामा थुप्रै बचतकर्ताहरुको रकम डुबेको छ, उनी भन्छन् ।
सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग गर्दै सहकारी विभाग पुगेकामध्ये पीडित कालिका आचार्य उक्त संस्थामा आफ्नो नौ लाख रुपैयाँ डुबेको बताउँछिन् ।
यसैगरी अर्की पीडित गीता आचार्य पनि उक्त संस्थामा आफ्नो १० लाख रुपैयाँ डुबेको बताउँछिन् । पीडित बचतकर्ता आचार्यका अनुसार उक्त संस्थामा कार्यरत कर्मचारी सरिता श्रेष्ठ भने अहिले गाउँ गएर बसेकी छन् । सहकारीका म्यानेजर राजन राई भने पीडितको रकम उठाउन हामीसँगै हिड्नुु भएको छ, उनी भन्छिन् ।
प्रतिक्रिया