बानेश्वरको मुल सडकमा कसरी पर्‍यो भ्वाङ ?

नेपालखोज २०७८ कार्तिक ११ गते ११:४८

काठमाडौं । काठमाडौंको बानेश्वरको मुल सडकमा मंगालको वाल भत्किएर भ्वाङ परेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।

सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताए । उनले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए ।

प्रतिक्रिया