देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न हुँदैन : नेपाल

नेपालखोज २०७८ कार्तिक ११ गते १२:४२

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे । उनले भने, ‘५ दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।’

देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । ‘ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो’, अध्यक्ष नेपालले भने।

नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे। ‘कम्युनिस्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो’, उनले भने।

फरक प्रसंगमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारे । रासस

प्रतिक्रिया