प्रधानमन्त्रीकाे निर्देशन- कोरोना खोपमा कुनै कमी नराख्नू

नेपालखोज २०७८ कार्तिक ११ गते १४:०३


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैं खरिद गरेर भएपनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

उक्त बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कुल जनसंख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।

असोज मसन्तसम्म एकतिहाइ जनसंख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

विगतमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको अध्यादेश निष्क्रिय भइसकेपछि नेपाल सरकारले त्यसको व्यवस्थापनका लागि असोजमा आदेश जारी गरी सीसीएमसीलाई कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रमा रुपान्तरण गरेको थियो ।

बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ संक्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो ।

बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिए ।

सरकारले अवकाशप्राप्त रथी बालानन्द शर्माको नेतृत्वमा उक्त केन्द्र बनाएको थियो । बैठकले केन्द्रबाट हालसम्म भएको कामका लागि धन्यवाद दिएको छ । रासस

प्रतिक्रिया