‘न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट हुनुपर्छ’

नेपालखोज २०७८ कार्तिक ११ गते २१:३०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट नै हुनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सांसद विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले प्रधानन्यायाधीशको गल्ती नभए सर्वोच्चका न्यायाधीशहरुसँग बसेर छलफल गरी न्यायपालिकाको गरिमा बढाउनुपर्ने बताए । सांसद विश्वकर्माले सरकारी कार्यालयमा हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरुले गर्नु नहुने तर्क गरे ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले हरेक राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण देश अघि बढ्न नसकेको बताए । उनले एउटै व्यक्ति पार्टीको लगातार नेतृत्वमा बसिरहनाले देशले ३० वर्षमा पनि गति लिन नसकेको बताए ।

सांसद सिंहले भने, ‘हरेक राजनीतिक दलको नेतृत्वको असक्षमता प्रदर्शित गरेको छ, बिगत ३० वर्षदेखि यो देश अघि बढ्न सकेको छैन, एउटै व्यक्ति नेतृत्व र प्रधानमन्त्रीमा कब्जा गरेर बसेको छ, त्यसैले देश कतै पुग्दैन ।’

त्यसैगरी, नेपाली कांग्रेसका अर्का नेता भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुनुपर्ने बताउँदै भने, ‘न्यायालयको समस्या समाधान न्यायालयबाटै हुनुपर्छ, त्यसले नै सम्मानीत अदालत र न्यायाधीशहरुको इज्जत बच्छ ।’ सांसद प्रधानले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया