‘सरकार विद्युतीकरणको योजनामा जुटेको छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै भुसालले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताए ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगेको जनाउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढंगबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिए ।
खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालयमातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार (आज) बिहान विद्युतीय सवारीसाधनको र्यालीको आयोजना गरेको छ । –रासस

प्रतिक्रिया