राष्ट्रपति भण्डारी भोलि ढोरपाटन जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार (भोलि) ढोरपाटन जाने बताइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन जाने जानकारी दिए । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।
राष्ट्रपति आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।
सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । १ हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ ।
पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।रासस

प्रतिक्रिया