सूचना लिन अझै कटुवालकै भर !

लमजुङ । आधुनिक प्रविधिको युगमा समेत लमजुङमा अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ ।
लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।
स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।
गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारेको नयाँ सूचना वा खबर सुनाउछन् । उनी गाउँलेलाई सूचना दिने मान्छेअर्थात् कटुवाल हन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिकरुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्व रहँदै आएको छ ।
घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् ।
गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए । गुरुङले भने ‘गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।’
वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनको भनाइ छ । गुरुङले गत मङ्सिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आएका छन् । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ ।
उनले भने ‘यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पु¥याउने गरेको छु ।’ गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैँ खटिँदै आएको उनले भने । ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उनी सुनाउँछन् ।
यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उनले गाउँलेबाट सामूहिकरुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँनुहुन्छ । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । रासस

प्रतिक्रिया