बाजुरामा बढे ज्वरोका बिरामी

मार्तडी । बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा १० देखि १५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरेका छन् ।
मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताउनुभयो । अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुनेलगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ । भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतजना जगाउँदै आएको अहेव थापा बताउँछन् ।
भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ । दैनिक रूपमा भाइरल ज्वरोलगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरुको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगङ्गा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताए ।

प्रतिक्रिया