अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

नेपालखोज २०७८ कार्तिक १३ गते १४:५५

काठमाडाैं । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन् ।

योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ । आज नेपाल एयरलाइन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।

प्रतिक्रिया