‘जेलमा रहेका विप्लवका कार्यकर्ता रिहाको गृहकार्य भइरहेकाे छ’

नेपालखोज २०७८ कार्तिक १३ गते १७:००

काठमाडाैं । कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

गृहमन्त्रीसमेत रहेका उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।

कार्यवहाक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारीसमेत दिए ।

उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाइ थियो ।

उनले भने, ‘मुद्दा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्दा टुंगियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरुको कानुनी अवस्था चाँही कस्तो छ ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अव स्पेसिफिक रुपमा छलफल गरौं । र बन्दीभन्दा पनि मुद्धा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दाखेरी बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध छ ।’

कार्यबहाक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताए ।

प्रतिक्रिया