‘कांग्रेस जस्तो बूढो र अशक्त पार्टीले हाम्राे पार्टीसँग प्रतिस्पर्धा गर्नै सक्दैन’

नेपालखोज २०७८ कार्तिक १३ गते १८:४७

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोपसमेत लगाए ।

अध्यक्ष ओलीले एमालेविरुद्धको षडयन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबीसमेत गरे ।

उनले प्रचण्डको निर्देशनमा उनले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘अग्नी सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन । नेकपा एमालेको विरुद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गरे । प्रचण्डले धक्का, छल्याङ भनेर आफैँलाई महाविपत्तितर्फ धलेल्दै लगेको अध्यक्ष ओलीको दाबी छ ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस महाधिवेशनसमेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गरे । उनले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रुपमा उभ्याएको ओलीको भनाइ छ ।

उनले कांग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबीसमेत गरे । अध्यक्ष ओलीले भने, ‘पाँच वर्षभित्र गर्नुपर्ने गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने । त्यो पनि गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ । त्यो कुनै पनि हिसावले काँग्रेसको रिती पुर्‍याउने कुरा हो । महाधिवेशन आयोजना गर्ने क्षमतानै कांग्रेससँग समाप्त भइसक्यो । महाधिवेशननै गर्न नसक्ने हालतमा कांग्रेस बुढो । अशक्त भयो ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरे । उनले नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री हुँदा करोडौको भाडाकुडा किनेको भन्ने कुरा सत्य नभएको बताए ।

बरु आफूले घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको उनको स्पष्टिकरण थियो । अध्यक्ष ओलीले भने ‘प्रचण्डले हाल्ने गर्छन नि कथा । प्रचण्डले चितवन गएर के भनेछन् भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाडाकुडा मात्रै करोडौंको किनेको रहेछ भनेर । मेरो भान्सामा त भाडाकुडा पनि आफ्नै हुन्थे । के को किन्नु सरकार बेकार । मलाई केही चाहिएको छैन । अब त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ । सेनाले खानु पर्‍याे होला । सेनालाई खाना पकाउनु पर्‍याे होला । त्यहाँ ग्याँस खर्च भयो होला । अनि करोडौंको भाडाकुडा चाँही के गर्नु ?’

अध्यक्ष ओलीले आफ्नो पार्टी एकतावद्ध रहेको दाबीसमेत गरे । उनले माधव नेपाललाई पार्टी भित्रै राख्नका लागि १० बुँदे सहमती गरेको पनि पटकपटक दोहोर्‍याउए ।

प्रतिक्रिया