‘विगतको सरकारले के गर्‍यो/गरेनभन्दा पनि वर्तमान सरकारले के गर्दै छ भन्ने महत्त्वपूर्ण हुन्छ’

नेपालखोज २०७८ कार्तिक १३ गते १९:०५

काठमाडाैं । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेनभन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

ओली सरकारले साँढे तीन वर्ष गफमा बिताएको बताउँदै कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रीत रहेको बताए । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए ।

यसैबीच मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन् ।
मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठहरिने बताए ।

प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताए ।

कार्कीले नेपाली कांग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले केहि दिनभित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताए । तस्बिर रासस

प्रतिक्रिया