पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुग्याे : सिंह

नेपालखोज २०७८ कार्तिक १४ गते १३:३१

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताएका छन् ।

नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आइतबार (आज) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गरिरहेको बताउँदै त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताए ।

आफ्नो पार्टी आफैंले सुधार गर्नुपर्ने भन्दै उनले पार्टीको नेतृत्व र अवस्था सुधार गर्न जुट्नुपर्ने बताए । उनले भने, ‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ, पार्टीको समस्या हामी आफै समाधान गर्ने हो’।

नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए। पार्टी अहिले कै अवस्थामा कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।

केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागी धाधली गरेको उनले आरोप लगाएका छन् । यस्तै उनले सदस्यता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्याय भएको उनले बताए ।

पार्टीभित्रको बेथीती र विकृति अन्त्यका लागी नयाँ पूस्ता आउनु पर्ने उनको धारण थियो । विधि र पद्धतीको पालना गर्नु पर्छ भन्ने पार्टीले नै विधीको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उनले टिप्पणी गरे । देशमा लोकतन्त्र जोगाउनको लागि भए पनि कांग्रेस भित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी रहेको बताउँदै उनले सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना भन्दा पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्ने बताए।

त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए । पार्टीलाई वडा देखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफू सभापति बन्नु पर्ने उनको तर्क थियो ।

पार्टीको तल्लो तह देखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमतामा आफूमा एक्लो नेता मात्र भएको उनको दाबी थियो ।
उनले आफू देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दु:ख बुझेको बताए । आफूले देशका सबै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेद्वार आफू मात्र भएको उनले बताए । पार्टीलाई विधि सम्बत तरिकाले अगाडी बढाउनको लागि नेता कार्यकर्ताहरुले आफूलाई साथ दिनु पर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । उनले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।

प्रतिक्रिया