भारतमा कोरोना संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
यस अवधीमा कोरोना संक्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ । भारतमा शनिबार भएको संक्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए । कोरोना संक्रमणका कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए ।
यसअघि झन्डै १६ हजारको हाराहारीमा दैनिक संक्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो । भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ ।
यो संख्या २४७ दिनपछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको संख्या कूल संक्रमितहरुको संख्याको ०.४६ प्रतिशत मात्रै हो ।
शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना सुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये ९८.२० प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ ।
यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयबाट हामलसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ । रासस/एएनआई
प्रतिक्रिया