२९३ नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या ६२.२ प्रतिशत

नेपालखोज २०७८ कार्तिक १४ गते १७:४५

काठमाडौं । सहरी क्षेत्रमा विकास निर्माण गर्दा वातावरणमैत्री रुपमा गरिनुपर्नेमा जोड दिइएको छ । विश्व सहर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले २९३ वटा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या ६२.२ प्रतिशत रहेकाले ती नगरपालिकाको व्यवस्थित एवं वातावरणमैत्री विकास गरिनुपर्नेमा जोड दिए ।।

काठमाडौं उपत्यकाबाट वार्षिक रु अर्ब ५० करोडको फोहोर व्यवस्थापनमा खर्च हुने गरेकाले त्यसलाई मोहरमा परिणत गर्नतर्फ सोच अघि बढाउनु पर्ने उनले बताए । ग्रिसको यथेन्स सहरको सडकका दायाँबायाँ फलफूल बिरुवा रोपेर आकर्षक रुपमा विकास गरेजस्तै नेपालका नगरपालिकामा पनि गरिनुपर्ने सदस्य वाग्लेको सुझाव थियो ।

आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नगरपालिका घोषणाका लागि जनसङ्ख्या पुर्‍याउन थपिएका स्थानको विकासमा मन्त्रालय र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताए । गाउँपालिकाका केन्द्रभन्दा विकट स्थानलाई पनि नगरपालिका घोषणा गरी करमात्र बढी लिने सहरको सेवासुविधा भने नदिने गरेकामा सम्बन्धित सबैको चासो हुनुपर्ने उनको भनाइ छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले सहरी क्षेत्र सुधारको विषय उठाउँदा पहिलो प्राथमिकताका रुपमा यहाँका सभ्यताका स्रोत नदी सम्पदालाई बिर्सन नहुनेमा जोड दिए । नदी किनारमा बनेका सडकमा विद्युतीय बस सञ्चालन गरे नदी क्षेत्रको वायु प्रदूषण गर्न सहयोग पुग्ने उनले सुनाए ।

सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले प्रकृतिलाई संरक्षण गरेर वातावरण मैत्री एवं हरियाली सहर निर्माण गर्न सहयोग पुगोस् भन्ने सोचका साथ कार्यक्रम अघि सारिएको बताए । यसतर्फ सरोकार भएका सबै निकायको ध्यान जानुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले विश्व सहर दिवस मनाउन गठित समितिमा महानगरपालिका एवं नगरपालिका संघको समेत प्रतिनिधित्व भए पनि कार्यक्रममा उपस्थित नहुनु दुःखद भएको बताए । आगामी कार्यक्रममा महानगरपालिका र नगरपालिका संघलाई पनि सहभागी गराउनेतर्फ सचेत हुनुपर्ने भनाइ उनले राखे।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले परम्परागत सभ्यताका रुपमा रहेका पोखरी, तालको संरक्षण हुन नसक्नु र नदी किनारमा देवताको मन्दिर बनाउने गरेकामा अतिक्रमण गरिँदा प्राकृतिक प्रकोपले क्षति हुने गरेको बताए। सहरको विकासका लागि सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याकै आधारमा लगानी गरिनुपर्ने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) नेपालका कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानले विश्वभर सहरले ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने भएकाले जलवायु परिवर्तनबाट बच्न हरियाली एवं स्वच्छ सहर विकास गरिनुपर्ने बताए । विश्वभर सहरी क्षेत्रले ७५ प्रतिशत ऊर्जा उपभोग गर्ने गरेको छ ।

प्रतिक्रिया