प्रदेश १ : विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

नेपालखोज २०७८ कार्तिक १५ गते ६:५५

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

यस अघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ ।

यसअघि कात्तिक ७ गतेका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निवेदन दिएकाले आजका लागि सारिएको थियो ।

संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन् । सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । यसअघि आइतबार बसेको गठबन्धनका दलको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार विराटनगरमा बसेको बैठकले आचार्यले विश्वासको मत लिँदा एकजुट भएर विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङबोले जानकारी दिए ।

आङबोका अनुसार सोमबार नै एकीकृत समाजवादीका सचिव एवं प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि उक्त प्रदेशमा नेकपा (एमाले)का आचार्य मुख्यमन्त्री बनेका थिए । तर, एमालेबाट विभाजन भइ नेकपा (एकीकृत समाजवादी) गठन भएपछि आचार्य अल्पमतमा परेका थिए ।

प्रतिक्रिया