‘जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा सबै सचेत हुनुपर्छ’

नेपालखोज २०७८ कार्तिक १५ गते १३:२५

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छन् ।

आज मनाङमा एग्रो मनाङ प्रा‍.लि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताइन् ।

वातावरणीय सन्तुलन कायम राख्न वनजंगल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

गत असार १ गते आएको बाढीपहिराका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उनले बताइन् । मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताइन् ।

विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरिन्।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताइन् । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पुर्‍याउनुपर्ने देखिएको उनको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताइन् ।

उनले आजदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गरिन् ।

यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया