तीन महिनामा २७ वाणिज्य बैंकले कमाए १८ अर्ब ११ करोड

काठमाडाैं । वाणिज्य बैंकहरुको खुद मुनाफा झन्डै ३६ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद मुनाफा झन्डै ३६ प्रतिशत अर्थात तीन अर्ब ५१ करोड ३४ लाख १६ हजार रुपैयाँले बढेको हो ।
गत आवको पहिलो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले जम्मा १४ अर्ब ६० करोड ३९ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । तर चालु आवको पहिलो त्रैमासमा भने कोभिड १९ को असर कम भएसँगै बैकहरुको नाफा बढेर १८ अर्ब ११ करोड ७३ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा सबैभन्दा बढी नाफा एनआईसी एशिया, नबिल, ग्लोवल आइएमई, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले कमाएका छन् । यी प्रत्येक बैंकहरुको नाफा एक अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।
यी बाहेकका सिटिजन्स बैंक इन्टरनेसन लिमिटेड, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंकसहितका २२ वटा बैंकहरुको नाफा भने २५ करोडदेखि ९४ करोड रुपैयाँसम्मको बीचमा रहेको छ ।
सोमध्ये सबैभन्दा कम नाफा बैंक अफ काठमाण्डूको रहेको छ भने सबैभन्दा बढी नाफा सिद्धार्थ बैंकको रहेको छ । बैंक अफ काठमाण्डूले चालु आवको पहिलो त्रैमासमा २५ करोड ७७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिद्धार्थ बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यसैगरी सेञ्चुरी कर्मसियल बैंक, नेपाल एसबीआई बैंकको नाफा पनि कमजोर देखिएको छ । सेञ्चुरी बैकले चालु आवको पहिलो त्रैमासमा २७ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल एसबीआई बैंकले ३७ करोड २९ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
प्रभु बैंकले चालु आवको पहिलो त्रैमासमा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्रभुको यस्तो नाफा ८५ करोड १४ हजार रुपैयाँ रहेको थियो ।
यीबाहेकका सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक आदिको नाफा पनि चालु आवको पहिलो त्रैमासमा सन्तोषजनक देखिएको छ ।
प्रतिक्रिया