‘प्रेस स्वतन्त्रताबिना कुनै पनि संस्थाको स्थायित्व हुँदैन’

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग अन्तर्क्रिया गरेको छ ।
पछिल्लो समय संघ, प्रदेश एंव स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्न थालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ ।
महासंघमा आज भएको अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री बडुले प्रेस स्वतन्त्रता बिना कुनैपनि संस्थाको स्थायित्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताए ।
उनले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकारवालासँग छलफल गर्ने र त्यसलाई प्रेस मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने पत्रकारलाई हार्दिक बधाइ दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेस मैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधै असहमति रहने बताए ।
उनले प्रजातान्त्रिक मुल्यमान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासंगको छलफल विना नै सरकारले कानुन निर्माण गरिरहेको बताए । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेलले भने ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकाशराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दैआएको बताउनुभयो । उहाँले भौतिक रुपमा आफुहरु अमेरिकामा भएतापनि नेपालको पत्रकारिताको विकासका लागि योगदान दिन इच्छुक रहेको बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थिति बिनानै सरकारले प्रेस सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नर्गन सरकारलाइ आग्रह गरे ।
उनले आमसञ्चार सम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासंग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गरे ।
‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

प्रतिक्रिया