शुक्रबार, वैशाख १४, २०८१

प्रहरी चौकीको भवन निर्माण

नेपालखोज २०७८ कार्तिक १७ गते ७:०४

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको दुई करोड दुई लाख लगानीमा सो भवन निर्माण गरिएको हो ।

उक्त भवनको प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मंगलबार उद्घाटन गरे ।

गोरखा–रुजन जेभी काठमाडाँैले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुई तले सो भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित प्रहरी चौकी भवनमा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।

भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहनाबमोजिमको सेवा प्रदान गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

अपराध अनुसन्धान गर्न आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराउने उनको भनाइ थियो । ‘कुनै हालतमा दोषी उम्कनु भएन’, बिसीले भने ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी भवन निर्माण थालिएको हो ।

बुइपासँगै च्यास्मिटारमा निर्माण गरिएको भवन सम्पन्न भएर हस्तान्तरण गरिएको छ । रतन्छामा भवन निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख अनुज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया