शनिबार, जेठ ५, २०८१

५ अंकले बढ्यो नेप्से, ६ अर्ब ५५ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक १७ गते १५:३३

काठमाडौं । नेप्सेको उच्च वृद्धि कायम नै देखिएको छ । अघिल्लो दिन २३ दशमलव ७६ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ५२ अंकले घटेर पाँच सय ३० दशमलव ८९ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय २९ वटा कम्पनीहरुको ६१ हजार सात सय ४५ पटकको कारोबारमा ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही आधारमा आज कुल कारोबार रकम छ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज आठवटा समूहको सूचक बढेर पाँचवटा समूहको सूचक घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव आठ अंकले बढेर १९ सय दुई दशमलव ६१ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि २२ दशमलव ७९ अंकले बढेर ३१ सय ८५ दशमलव ७३ अंकमा चढेको छ ।

फाइनान्स समूहको सूचक पनि १० दशमलव ५७ अंकले बढेर २७ सय एक दशमलव ८१ अंकमा चढेकोमा विकास बैंक, उत्पादनमुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।

निर्जीवन बिमा समूहको सूचक भने आज एक सय १३ दशमलव ४४ अंकले घटेर १३ हजार ९२ दशमलव ४२ अंकमा झरेकोमा जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय तीन रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा छ्याङदी हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५९ प्रतिशतले घटेर चार सय ९० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १६ सय ५३ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा एक अर्ब १७ करोड ९१ लाख ६६ हजार तीन सय चार रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया