चीनबाट थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप आइपुग्यो

काठमाडौं । चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई त्यो खोप हस्तान्तरण गरेकी हुन् ।
हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख मात्रा भेरोसेल खोप अनुदान सहायताका रूपमा उपलब्ध गराइसकेको छ । चीन सरकारले चालु आर्थिक वर्षभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिइ सक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप खोप उपलब्ध गराउँदै आएकोमा मन्त्री खतिवडाले आभार व्यक्त गरेका छन् ।
चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । राजदूत यान्छीले दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिएकी छन् ।

प्रतिक्रिया