अर्थमन्त्रीले भने- किमाथाङ्का नाकालाई व्यवस्थित गर्छौं

नेपालखोज २०७८ कार्तिक १७ गते १९:३४

खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् ।

अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए ।

त्यस्तै अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन संखुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिवद्धता मन्त्री शर्माले जनाए । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया