मंगलबार, वैशाख ११, २०८१

‘तिहारको रोटी, खाने धेरैचोटि’

नेपालखोज २०७८ कार्तिक १८ गते १०:४७

‘बासी सेलरोटी बिहानी चियामा चोबेर खानुको मज्जै बेग्लै’

काठमाडौं । दसैँपछिको ठूलो चाडका रूपमा तिहारलाई लिने गरिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा गर्ने, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थाप्नेसमेत गरिन्छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वका रूपमा चिनिने तिहारमा झिलिमिली बत्तीले थप रौनकता बढाएको हुन्छ ।तिहारमा प्रत्येकका घरघरमा झिलिमिली बत्ती बालिन्छ । घरमा झिलिमिली बत्ती, सहरमा धेरै थरीका फूल, मिठाई र मसलाले सिँगारिएका हुन्छन् । हरेक नेपालीको तिहार मनाउने आ–आफ्नो योजना हुन्छ । तिहार प्रायः सबैको विशेष चाड नै हो । सधैं अरूलाई मनोरञ्जन दिनमा व्यस्त रहने कलाकारहरू पनि यतिबेला सकेसम्म आफ्नो लागि समय छुट्याउँछन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाको पनि तिहार सबैभन्दा बढी मन पर्ने चाड हो । उनलाई तिहारको झिलिमिली बत्ति, दाजुभाइलाई टीका लगाउने अनि देउसी, भैलो खेल्ने पक्ष सबैभन्दा बढी मन पर्छ । यस वर्ष तिहारमा लक्ष्मी पूजा काठमाडौंमा गर्ने र भाइटीका विराटनगर गएर मनाउने दीपाको योजना छ । ‘विशेषगरी लक्ष्मी पूजा गर्न मन पर्छ । देउसी भैलो खेलेको मन पर्छ । देउसी भैलो खेल्न सबैजना घरघरमा आएर भैलो भट्टयाउँदा म सँगसँगै भट्टयाउँछु । खेल्न मन लाग्छ मलाई पनि,’ उनले हाँस्दै भनिन् ।

‘भाइटीका त झन् रमाइलो भई नै हाल्यो,’ दीपा भन्छिन्, ‘यो समयमा भाइटीका लगाउन पाइयो । भाइहरूले के दिन्छ भन्ने सोचिथ्यो सानसानोमा हुँदा । भाइहरूको कमाइ हुँदैन थियो । आमाले पैसा दिने हो । टीका लगाउने भाइले पैसा दिने आमाले भनेर मैले आमालाई नै टीका लगाउँदा भइहाल्यो नि भनिहाल्थे । त्यो रमाइलो हो बालापनको जो अहिले एकदमै मिस गरिन्छ ।’ झिलिमिलीको चाड भएकाले सबैको जिन्दगी झिलिमिली होस् भन्ने शुभकामना दिन्छिन् दीपा ।

समयअनुसार चाडपर्वमा भिन्नता आएको उनी बताउँछिन् । उनले भनिन्, ‘पहिलाको देउसी-भैलो खेल्दा गाउँभरका मान्छे भेला हुने, रमाइलो गर्ने गरिन्थ्यो । अब त त्यो भेला हुनै पाइँदैन । कोभिड संक्रमण छ । समयअनुसार परिवर्तन हुँदो रहेछ । तर आफ्नो कला, सस्कृति, रीतिरिवाज यसलाई भने सबैले बचाउँदै लिनुपर्छ । बिर्सिनु भएन ।’

पहिला–पहिला दसैँतिहारमा भुँइ छाड्नैपथ्र्यो । त्यो परम्परा बिस्तारै हराउँदै गएको दीपा बताउँछिन् । ‘चंगा उडाउँथ्यौं तर अहिले यदाकदा मात्रै देखिन्छ । अब आउने पिँढीलाई त चंगा कसरी उडाउँछन् भन्ने सबै गुगल र युट्युबमा हेर्नेबाहेक काम छैन । त्यो क्षणलाई उनीहरूले महसुस गर्नै पाएन ।’ निर्देशक निरौलालाई तिहारमा पकाएको बासी सेलरोटी खान धेरै मन पर्छ । उनले भनिन्, ‘तिहारमा बनाएको बासी सेलरोटी बिहानी चियामा चोबेर खानुको मज्जा बेग्लै हुन्छ ।’

नेपालमा अझै पनि कोभिडको जोखिम कायमै रहेकाले तिहारलाई भड्किलो तरिकाले मनाउनुभन्दा पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिने हिसाबले सजगता अपनाएर मनाउनुपर्ने दीपा बताउँछिन् । अहिले तिहारमा बढी रमझम गरेर पछि पछुताउनुभन्दा अहिले नै सबैले सजगता अपनाउनुपर्ने उनको भनाइ छ । देउसी–भैलो खेल्दा पनि सकेसम्म दूरी कायम गरेर मात्रै खेल्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया