शनिबार, वैशाख १३, २०८२

सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासका आधारमा आज बिहानै घर सफासुग्घर गर्ने चलन छ ।

नेपालखोज २०७८ कार्तिक १८ गते ६:१३

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसीको साँझ । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदै छ ।

साँझ लक्ष्मीपूजा गर्नुअघि घर सफासुग्घर र लिपपोत गर्नुपर्ने मान्यता छ । सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने जनविश्वासका आधारमा आज बिहानै घर सफासुग्घर गर्ने चलन छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । हाल दियोका स्थानमा मैनबत्ती बाल्ने चलन बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने चलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ महिलाहरूले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको विश्वास छ ।

प्रतिक्रिया