शुक्रबार, वैशाख १४, २०८१

रेडियो काठमाण्डुको प्रसारण क्षमता विस्तार

नेपालखोज २०७८ कार्तिक १८ गते ९:०७

काठमाडौं । रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले आफ्नो प्रसारण क्षमता वृद्धि गरेको छ । २०७३ वैशाख १ बाट औपचारिक प्रसारण सुरु गरेको रेडियोको प्रसारण क्षमता वृद्धि गरी एक हजार वाट पुर्‍याएको अध्यक्ष यूपी लामिछानेले बताएका छन् ।

‘परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ काठमाडौंको चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अब स्रोतमाझ अझै परिष्कृत र स्पष्टरूपमा सुनिने विश्वास छ,’ उनले भने, ‘धेरै स्रोताको रोजाइमा परेको रेडियो काठमाण्डु अहिलेको डिजिटल युगमा एफएम फ्रिक्वेन्सीमा सुन्न मात्रै होइन, हेर्न र पढ्नसमेत सकिन्छ । एफएम फ्रिक्वेन्सीसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण गर्ने पहिलो रेडियो हो ।’

रेडियोले प्रत्येक घण्टा समाचार, स्रोताको रोजाइअनुसारका सूचनामूलक, शिक्षामूलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीका कार्यक्रम प्रसारण गर्दै आएको अध्यक्ष लामिछानेले जनाएका छन् । रेडियो काठमाण्डुले उत्पादन गरेका कतिपय कार्यक्रम देशरभरका एक सय बढी रेडियोहरुबाट प्रसारण हुँदै आएका छन् । ‘यो सफलताको सबै श्रेय हाम्रा प्रिय स्रोता, विज्ञापनदाता, कर्मचारी तथा शुभचिन्तकहरु नै हुनुहुन्छ । यसै अवसरमा हामी उहाँहरुमाझ हाम्रा कार्यक्रमहरुलाई अझै बढी परिष्कृत र स्रोतामैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौं,’ उनले भनेका छन् ।

अध्यक्ष लामिछानेले आगामी दिनमा पनि सबैको साथ पाइरहने अपेक्षासहित प्राप्त सल्लाह-सुझावलाई पालना गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । रेडियो हाम्रो ब्रोडकास्टिङ कम्पनी मातहत सञ्चालित छ ।

प्रतिक्रिया