‘छिमेकी देशहरुलाई विद्युत् बिक्रीको बाटो खुल्यो’

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले छिमेकी देशहरुलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् ।
उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएकोले आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।
मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युत्ले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने बताइन् ।
मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत् दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत महसुल घटाएको बताइन् ।
मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई विस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।
प्रतिक्रिया