आइतबार, जेठ १२, २०८२

काठमाडौं-पटना बस सेवा पुन: नियमित

नेपालखोज २०७८ कार्तिक २१ गते १५:५३

काठमाडौं । लगभग २० महिनापछि भारत-नेपाल मैत्री बस सेवा पुन: सञ्चालनमा आएको छ । बस सेवा बिहारको मुजफ्फरपुरबाट काठमाडौंसम्म चल्दै आएको छ ।

गत शुक्रबार साँझ ४ बजे मुजफ्फरपुरको इमलीचट्टीस्थित सरकारी बसपार्कबाट ४२ यात्रु बोकेर बस काठमाडौं प्रस्थान गरेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यसैगरी बिहारको राजधानी पटनाबाट काठमाडौं चल्ने बस सेवा पनि नियमित भएको छ । पटनाबाट १२ घण्टा र मुजफ्फरपुरबाट १० घण्टामा काठमाडौंसम्मको यात्रा तय हुन्छ । काठमाडौं-पटना यात्राका लागि १०५५ भारतीय रुपैयाँ तथा काठमाडौं-मुजफ्फरपुरका लागि ८५५ भारतीय रुपैयाँ भाडादर कायम गरिएको छ ।

काठमाडौं-पटनाबीचको बस गएको बिहीबारदेखि नै सञ्चालन गरिएको हो । बिहीबार पटनाको बाँकीपुरमा बिहार राज्य पथ परिवहन निगमका प्रशासक श्याम किशोरले हरियो झन्डा देखाएर सेवा पुन: सञ्चालन गरेका थिए । यो बस रक्सौल बोर्डर हुँदै चल्ने गरेको छ । कोरोना महामारीको प्रकोप बढेपछि फेब्रुअरी २०२० देखि यो सेवा अस्थायी रुपमा बन्द थियो । बीचमा भारत-नेपाल सिमानामा आवतजावत पूर्णत: बन्द गरिएको थियो । अहिले यो बस सेवा स्वास्थ्य प्रोटोकलअनुसार परिचालन हुने बताइएको छ । यसका लागि बसलाइ सेनिटाइज गरिनुका साथै यात्रुहरुको थर्मल स्क्रिनिङ र मास्क अनिवार्य गरिएको छ ।

यसैगरी प्रदेश २ को राजधानी जनकपुरका लागि चल्ने बिहार परिवहन निगमको बस पनि सञ्चालनमा आएको छ । यो बस यात्राको पटना तथा मुजफ्फरपुरसम्मको भाडा २७५ भारतीय रुपैयाँ तोकिएको छ । पटनाबाट ८ र मुजफ्फरपुरबाट ६ घण्टामा जनकपुरसम्मको यात्रा तय हुन्छ । जनकपुर-पटनाबीचको यो यात्रा बिहान ९ बजे सुरु भई मुजफ्फरपुर, सीतामढी, भिट्ठामोड हुँदै साँझ साढे ५ बजे पूरा हुन्छ । यसैगरी जनकपुर-मुजफ्फरपुर बस दिउँसो १२:३० मा प्रारम्भ हुने बताइएको छ । यो बस सेवा पनि विगत २० महिनादेखि बन्द थियो ।

बिहार पथ परिवाहन निगमका मुजफ्फरपुर प्रक्षेत्रका क्षेत्रीय प्रबन्धक आशिष कुमारका अनुसार भारत-नेपाल मैत्री बस सेवामा हाल एक-एकवटा बस अप-डाउनमा चलाइएको भए पनि यात्रु संख्याका आधारमा सेवा बिस्तार गरिँदै लगिनेछ ।

प्रतिक्रिया