पाँचदलीय गठबन्धनलाई ओलीले भने- लोकतन्त्रको ‘भक्षक’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिएका छन् । एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्ता मात्रै चाहिएको दावी समेत गरे ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई देश नभई आफ्नो स्वार्थमात्रै पूरा गर्नु रहेको बताए । अध्यक्ष ओलीले एमाले नभएको भए १७ साल आईसकेको हुने दावी समेत गरे ।
एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उनको दावी छ । अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेको पनि बताए । उनले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिवद्धता समेत दोहो¥याए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नु भयो भनेर प्रश्न गरे ।
आफूहरुले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेलायत बठाउनु भयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? अध्यक्ष ओलीको जिज्ञासा थियो ।
अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढथे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिक पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसेको पार्सपोर्टबाट जानु भएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताई दिनुस त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २/४, ५ लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनु भएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँडदाखेरी ?’
अध्यक्ष ओलीले आफूले सांसद् भएपछि मात्रै भिसा पाएको उल्लेख गर्दै तर बाबुराम भट्टराईहरुले कसरी भिसा पाउने गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले गीत, कला, साहित्य सबैको माध्यामबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए ।
प्रतिक्रिया