प्रदेश १ र गण्डकीमा सामान्य बदली, हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात

काठमाडौं । प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (सोमबार) प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । आज (सोमबार) राति देशभर आंशिक बदली रहनेछ ।
यसैगरी भोलि (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।
प्रदेश १ र गण्डकीका हिमाली भेकका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया