भारतमा कोरोना संक्रमितको संख्या नौ महिनाकै कम !

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या नौ महिना पछिकै सबैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले आज दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सबैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिलेसम्म कूल संक्रमितहरुको संख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा एक लाख ४० हजार ६३८ जना सक्रिय संक्रिमत रहेका छन् ।
दैनिक नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएको हो ।
पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर चार लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ । तीमध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।रासस/एएनआई
प्रतिक्रिया