मन्त्रिपरिषद् निर्णय : बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत दिइने

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार (हिजो) बसेको बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
मंगलबार (आज) मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।
उनले कुस्मामा ४ सय केबी सब-स्टेसन र जुम्ला सब-स्टेसनका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ह्याङ सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको पनि बताए ।
प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ली, डब्यूएचओ ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ ।
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए ।

प्रतिक्रिया