मंगलबार, जेठ ७, २०८२

पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेट !

नेपालखोज २०७८ कार्तिक २४ गते १२:३१

काठमाडौं । चिनियाँ दुतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो ।

नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मा.वि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो ।

उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितीमा सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दुतावासले सहयोग गरेको बताए ।

उनले कोभिडका कारण विद्यालय बन्द भएको र सोहि कारण विद्यार्थी अध्ययनबाट वञ्चित भएकाले वञ्चित विद्यार्थीले पनि पढ्न पाउन् भनेर दुतावासले नेपाली विद्यार्थीलाई इन्टरनेटको पहुँच पुर्‍याउन सहयोग गर्ने निर्णय गरेअनुसार नै सहयोग गरिएको स्पष्ट पारे ।

उनले नेपाल र चीन एक असल छिमेकी र सुख, दुःखको साथी भएको बताउँदै यसलाई कायम राख्न विद्यार्थीहरुले नेपाल र चीन बीचको इतिहास पढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको बताए ।

सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ । चारवटै विद्यालयमा इन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईवर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेला पनि इन्टरनेट चलाउनका लागि सोलार इन्भर्टर र एक वर्षका लागि आवश्यक पर्ने इन्टरनेट पोखरा इन्टरनेटबाट निःशुल्क उपलब्ध गराइनेछ ।

यो कामका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले जानकारी दिए ।

प्रतिक्रिया