‘एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने संकल्प लिएको छ’

नेपालखोज २०७८ कार्तिक २४ गते १४:४३


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आग्रह गरेका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताए ।

‘एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । सोही संकल्प अनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्‍यो’, उनले सन्देश भने, ‘हामीले सिंगो देशलाई नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं। समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।’

प्रतिक्रिया