राष्ट्रपति भण्डारीले गरिन छठी माताको अर्चना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छन् । बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएकी हुन् ।
कमलपोखरीमा अघ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी थिइन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । व्रतालुले कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलही झैँ सिङ्गारिएका छन् । जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ ।
तस्बिर : रासस

प्रतिक्रिया