संघीयतामा पहिलो जनगणना आजदेखि सुरु, पहिलो गणना राष्ट्रपति परिवारको

काठमाडौं । राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै छ । देश संघीयतामा गएपछिको यो पहिलो गणना हो ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय जनगणना सुरु गदैछ । आज साढे ९ बजे राष्ट्रपति भण्डारीको जनगणना गरिँदै छ । यस्तै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिनेछ ।
यो जनगणनासँगै नेपालको जनसंख्या ३ करोड ननाघ्ने देखिएको छ । विभागले असोज ३० देखि कात्तिक १८ गतेसम्म गरेको घरधुरी सूचीकरणले ३ करोड नपुग्ने प्रक्षेपण गरेको हो ।
गणनाका लागि केन्द्रीय तथ्यांक विभागले ४० हजार गणक र साढे ८ हजार सुपरिवेक्षक खटाएको छ । आजबाट घर-घरमा आउने गणकले ८० वटा प्रश्नावली सोधेर विवरण भर्नेछन् । एक गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान गरिएको छ ।
तथ्यांकको गुणस्तर सुनिश्चित गर्न कर्मचारीसमेत परिचालित छन् । संघदेखि तल्लो एकाइ वडासम्म जनगणना समन्वय समिति बनाइएका छन् ।
यसपटक मान्छे मात्रै होइन, प्रकृतिदेखि संस्कृतिसम्मकै विवरण लिइने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए । मठमन्दिर, पाटीपौवा कति छन् भन्ने पनि संकलन गरिनेछ । यो कार्य मंसिर ९ सम्म अर्थात् १५ दिनसम्म चल्नेछ ।
प्रश्नावली लामो भए पनि यसले तल्लो प्रशासनिक तह (वडा)सम्मको तथ्यांकको माग पूरा गर्ने अपेक्षा गरिएको महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
राजदूताबास, महावाणिज्य दूतावास र स्थायी नियोगहरूमा ई-सेन्स विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण लिइने बताइएको छ ।
गणक र सुपरिवेक्षकले देशभरका ६ हजार ७ सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भर्ने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया