कोभिडको दीर्घकालीन असर के-के हुन् सक्छ ?

कोभिडका दीर्घकालीन असर :
कमजोरी
कोभिड लागेर घर फर्किएकाहरू मध्ये धेरैले कमजारीको सामना गरेका छन् । त्यसमा पनि आईसीयूमा बसेका वा भेण्टिलेटर मा रहेकाहरूलाई अक्सर कमजोरी देखापर्छ। विशेषगरी भेन्टीलेटरमा राखिएका मध्ये ३३ प्रतिशतलाई यो कमजोरी देखापर्छ र एक वर्षसम्म रहन सक्छ। यसरी देखापर्ने कमजोरीको कारण भनेको आईसीयूमा लामो समयसम्म नचली बस्दा र अचेत वा अर्धचेत हुँदा वा कडा संक्रमण र प्रदाहत्मक क्रियापश्चात विकसित भएको पोलिन्युरोपथी हो जसले मांशपेशीलाई समेत कमजोर बनाउँदछ।
शरीर दुख्ने
शरीर दुख्नुको कारण पनि कोभिड पश्चात विकसित हुने पोलीन्युरोपथी नै हो। यसका अलावा कोभिड हुँदाका उत्सर्जीत भएको प्रोइन्फ्लामेटरी साइटोकाइन्सहरूको रक्तस्तर कम नहुनाले पनि हो।
थकान
लक्षणसहितको कोभिड-१९ लाई जीतेर घर फर्किएकाहरू मध्ये अधिकांशलाई शारीरिक कमजोरी र दीर्घकालिन थकाइले सताएको पाइएको छ। त्यसमा पनि आईसीयू र भेण्टिलेटरमा बसेर फर्किएकाहरू त स–साना शारीरिक श्रम र व्यायाम गर्दा पनि थाकिहाल्छन् । यसो हुनुको मुख्य कारण कोभिडसँगको लडाइका दैरान उत्पन्न हुन गएको उर्जा असन्तुलन मानसिक तनावलाई मानिएको छ। यस्तो थकान इप्टिनबार भाइरस र सार्स जीत्नेहरूमा पनि देखिएको थियो।
टाउको दुखाई
कोरोना भाइरस रोगले प्रताडित गरेकाहरू मध्ये धेरैलाई टाउको दुख्ने समस्याले सताएको हुन्छ। टाउको कोभिडपश्चात उत्पन्न भएको तनाव, चिन्ता भय उदासिनता, अनिन्द्रा कमजोरी आदिको कारणले पनि उत्पन्न भएको हुन सक्छ। यसैगरी कोभिड-१९ले मष्तिस्क वा टाउकाको नशाहरूलाई पनि असर गरेको रहेछ भने पनि न्युरोलोजीको कारणले टाउको दुख्न सक्दछ।
फोक्सोलाई क्षति
कोरोना भाइरसले मुख्य असर गर्ने अङ्ग फोक्सो नै हो र संक्रमण तिव्र प्रकारको भए फोक्सो र मुटुलाई क्षति पुर्याउन सक्दछ। कोभिड संक्रमण हुँदा फोक्सोमा इन्फ्लामेसन हुने गर्दछ। इन्फ्लामेसन हुँदा संक्रमित क्षेत्रमा रातो तातो भइ दुख्नु, सुन्निनु र उक्त अङ्गले काम नगर्दै जाने गर्दछ । उक्त स्थान सुन्निदा सो स्थानमा पानी पनि जम्न जान्छ र निमोनियाँ पनि देखापर्दछ। यो घटनाक्रम फोक्सोबाट मुटु, मृगौला, कलेजो र मष्तिस्कमा पनि सर्न सक्छ र भाइरस त्यहाँ पुगेर ती अङ्गहरूलाई पनि ड्यामेज गर्नसक्छ।
श्वास प्रश्वासमा समस्या, रूघा, खोकी, घाँटी खसखसाउने
रूघा, खोकी, घाँटी दुख्ने तथा खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण कोभिडका आधारभुत लक्षणहरू हुन् जुन पीसीआर नेगाटिभ आएपछि पनि बसिरहन सक्दछ। त्यसमा पनि आईसीयू बसेका र भेण्टिलेटरमा राखिएकाहरूलाई त यी लक्षणहरूले अलि बढी चाप्छ। कोभिड–१९ पछि दमबढ्ने, श्वासफुल्ने, खोकीलाग्ने जस्ता यी श्वास प्रश्वासमा देखापर्ने समस्याहरूको कारण कोभिडले जीर्ण बनाएको फोक्सो मुटु हुनसक्छ।
जोर्नी दुख्ने
कोभिड पश्चात हुने जोर्नी दुखाई पनि हाम्रो जीवनको गुणवत्ता कम गरिदिन्छ। यसो हुनुको मुख्य कारण कोभिड हुँदा आइसोलेशन बस्दा अपनाइएको निष्क्रिय जीवनशैली हो । अझ आईसीयूमा राखिएको बिरामीलाई त जोर्नी र जीऊ दुख्ने समस्या अझ धेरै हुन्छ। यसका अलावा रोग अलि धेरै संक्रामक भए जोर्नीका तन्तुहरूमा पनि प्रवावित भइ जोर्नीमा क्षति पुगेको पनि हुनसक्छ।
छाती दुख्ने
कोभिड–१९ पश्चात हुने छाती दुख्ने समस्याको मुख्य कारण कोभिडको कारणले फोक्सो वा मुटुलाई पुगेको क्षतिका कारणले हो। यसैगरी कोभिड जीते पश्चात पनि कफ जम्ने, दमफुल्ने, फोक्सोको संक्रमण भइरहने जस्ता समस्या रहिरहने हुँदा छाती दुख्ने गर्दछ।
तनाव, चिन्ता, भय र उदासिनता
कोभिड–१९का कारणले आईसीयू बस्नु परेका वा आपतकालिन सेवा लिनु परेकाहरूमा कोभिड जिते पश्चात पनि कोभिडको तनाव चिन्ता र भयले सताई रहेको हुन्छ फलतः बिस्तारै उ निराश हुँदै जाने उदासिनताको शिकार बन्न पुग्दछ। कोभिडपश्चात हुने यी समस्याको मुख्य कारण कोभिडलाई हाउगुजीकरण गर्नाले नै हो। यसका अलावा कोभिड संक्रमणका कारण पुगेको क्षतिले निम्त्याएको पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरका कारणले गर्दा पनि यो समस्या देखा पर्छ।
अनिन्द्रा
कोभिड संक्रमणपश्चात पनि कोभिडका कारणले उत्पन्न तनाव, चिन्ता, भय, उदासिनता, नैराश्यता, पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर र विभिन्न अङ्गहरूलाई पुगेको क्षतिका कारणले कोभिड जीतेपश्चात पनि अनिन्द्राको समस्या रहन सक्छ।
संज्ञानात्मक समस्या
कोभिड–१९लाई जितेर घर फर्किएका मध्ये ४० प्रतिशत संक्रमितहरूले न्यूरोलोजीकल लक्षणहरू पनि अभिव्यक्त गर्ने गरेका छन् र ३० प्रतिशतभन्दा ज्यादाले संज्ञानात्मक लक्षणहरू जस्तै: अभिमुखता, स्मृति, बुद्धिमत्ता, सचेतना, ध्यान, लगाव, एकाग्रता, लय, मुल्याङ्कन गर्ने र निर्णय लिने क्षमता आदिमा गडबडी देखिन थालेको छ। यसो हुनुको मुख्यकारण कोभिडका कारणले थुपारिएको तनाव, चिन्ता, भय र उदाशिनता त हुँदै हो साथै भाइरसले स्नायू प्रणालीलाई पनि असर गर्ने हुँदा मष्तिस्कलाई क्षति पुर्याउँन सक्छ। कसैकसैलाई त इन्सेफालाइटिस र मेनिन्जाइटिस पनि हुन्छ ।
मानसिक अस्पष्टता (ब्रेन फग)
कोरोना संक्रमणका दैरान उत्पन्न तनाव, चिन्ता भय, उदासिनता, आईसोलेसन वा आईसीयूको पट्यार लाग्दो बसाई, थकाई, मष्तिस्कको ईन्फ्लामेसन, खिन्नता, आदिका कारणले कोभिड–१९लाई जीतेकाहरूमा मानसिक अस्पष्टता देखिन्छ।
स्वाद र गन्द ग्रहणमा समस्या
कोभिड संक्रमण हुँदा यसले प्राथमिक स्तरमा नाक मुख र घाटीलाई असर गर्ने गर्दछ। यसो हुँदा नाकको ग्रन्ध ग्रहण गर्ने ग्रन्थी र जिब्रोको स्वाद ग्रहण गर्ने ग्रन्थीलाई पनि असर पार्दछ र स्वाद हराउँदछ। संक्रमण तिव्र प्रकृतिको भए यी ग्रन्थीहरूलाई मनग्गे क्षति पुर्याई पीसीआर नेगाटिभ आए पश्चात पनि स्वाद र गन्द ग्रहणमा समस्या नसुल्झिन सक्छ।
मायो कार्डाइटिस
कोरोना भाइरसको संक्रमणले पहिलो चरणमा फोक्सोलाई असर गर्दछ र संक्रमण बढ्दै गएपछि रगत हुँदै भाइरस मुटुमा पुग्दछ र मुटुमा फैलिन्छ फलतः मुटु सुन्निन्छ जसलाई मायो कार्डाइटिस भनिन्छ। भाइरसलाई जितेर फर्किएकाहरूमा मायो कार्डाइटिसको समस्या रहि रहन सक्छ।
पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर
बलत्कार, युद्ध, सडक दुर्घटना, वाल दुर्व्यवहार, भूकम्प, सुनामी जस्ता ठूला प्रकृतिक प्रकोप आपतकालिन स्वास्थ्य स्थिति, आदि झेलेका व्यक्तिमा ती घटनाको कारणले विकसित भएको मानसिक तनावलाई पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ। पोष्ट ट्रमाटिक स्ट्रेसमा परेकाहरू अधिकतर त्यसै घटनाको विषयमा सोचिरहने, घटनाहरूसँग सम्बन्धित सपनाहरू देख्ने, कसैले घटनाको विषयमा कुरागरे विचलित हुने चिन्तित, थकित नीराश र उदाश हुने र स्थिति बढ्दै गएमा आत्महत्यासम्म गर्ने गर्छन्। यो पोष्ट ट्रमाटिक स्ट्रेस कोरोना संक्रमित भएर आपतकालिन सेवा लिएका, आईसीयू र भेण्टिलेटरमा बसेर आएका वा कोभिडले सिकिस्त पारेकाहरूमा पनि देख्न सकिन्छ। यी लक्षणहरू पहिलो एक महिना देखि एक बर्षसम्म रहन सक्छ।
दीर्घकालिन खोकी
कोरोना संक्रमणलाई जीतेर निस्किएकाहरू मध्ये ३० प्रतिशतलाई दीर्घकालिन खोकीको समस्याले पछिसम्म पनि पिरोल्ने गरेको पाइएको छ। खोकी लाग्नुको कारण कोभिड-१९ को संक्रमणपश्चात फोक्सोलाई पुग्न गएको क्षतिको कारणले हो। कोभिड नेगाटिभ आएपश्चात पनि संक्रमणको कारणले दम, ब्रोङ्काइटिस र एलर्जी जस्ता समस्या जन्मिने हुँदा खोकी रहिरहने गर्छ।
हल्का ज्वरो
कोभिड जितेर फर्किएकाहरू मध्ये केहीलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, झाडा पखाला लाग्ने, उल्टिहुने जस्ता लक्षणहरू देखा पर्न सक्छ। यसो हुनुको कारण एउटा कारण भाइरस लोड पुरै नहट्नु हो भने दोश्रो कारण संक्रमणले खगारेको शरीरले अन्य मौषमी संक्रमणलाई सहन नसक्नाले पनि हो । अझ विरामी आईसीयू वा भेन्टिलेटरमा बसेर आएको हो भने उसको स्वास्थ्य स्थिति त्यति स्थिर नभएको हुनाले अन्य संक्रमणहरूले बेला-बेलामा सताई रहन्छ।
हात खुट्टामा सोला हान्ने र पोल्ने
कोभिडका कारणले सिकिस्त भएर फर्किएकाहरूमा यो लक्षण ज्यादा देखिएको छ । यसको कारण पनि कोभिड–१९ संक्रमणका क्रममा विकसित भएको न्युरोपथी हो।
छालामा डाबर आउने
कोभिड-१९ संक्रमणका दैरान पनि छालामा डावर आउने, चिलाउने, पानीसरा आउने जस्ता लक्षणहरू देखापर्न सक्छन र यी लक्षणहरू कोभिड नेगाटिभ आएपनि पुनः देखापर्न सक्छन्।
मुटुको चालमा गडबडी
कोभिडको कारणले तनाव, चिन्ता, भय, उदासिनता, पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर आदि विकसित भएको भए आफ्नो मुटु चलेको विरामीले थाहा पाउन सक्छ जसलाई चिकित्सा विज्ञानको भाषामा पाल्पिटेसन भनिन्छ। यसका अतिरिक्त यदि कोभिडका कारणले कार्डियो मायोपथी विकसित भएको रहेछ भने मुटु कमजोर भएकाले मुटुको चाल गडबड भएको हुनसक्छ ।
कपाल झर्ने
कोभिड जीतेर बाचिरहेकाहरू मध्ये केही प्रतिशत मान्छेहरूमा कपाल झर्ने समस्या पनि देखा परेको छ । त्यसमा पनि विशेष गरेर कोभिडको कारणले सिकिस्त भएकाहरूमा यो समस्या ज्यादा देखिएको छ। यसो हुनुमा कोभिड संक्रमणका दैरान संक्रमितलाई पर्न गएको शारीरिक र मानसिक तनावलाई उत्तरदायी ठहर्याइएको छ । अझ संक्रमित आईसीयू वा भेण्टिलेटर बसेर गएको भए यो लक्षण अझ तिव्र रूपमा देखापर्ने गर्छ ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया