राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने

नेपालखोज २०७८ कार्तिक २५ गते १७:५६

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ । सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो ।

प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहले जानकारी दिए । एक करोड ५० लाख रूपैयाँ लागतमा प्लान्ट निर्माण गरिएको हो ।

हाल दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन सुरु भएपछि तत्कालका लागि आवश्यकपर्ने अक्सिजन प्रार्याप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालको तीन लाख रूपैयाँ आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यकपर्ने करिब १० अक्सिजन सिलिन्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो ।

अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ ।

गत जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२ अस्पतालका लागि १६ करोड ८० लाख रूपैयाँ बजेट छुट्याउने निर्णय गरेको थियो ।

अक्सिज अभावले कोरोना संक्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो । अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट निर्माण सुरु भएको छ ।

क्यानडा सरकारको सहयोग र नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो । प्रादेशिक अस्पतालमा एक महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ ।

बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १० एचडियु कक्षसमेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । रासस

प्रतिक्रिया