आइतबार, जेठ ५, २०८२

‘इमानदार कम्युनिस्ट ढिलोचाँडो पुरानै घरमा फर्किन्छन्’

नेपालखोज २०७८ कार्तिक २६ गते १२:०४

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् ।

उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।

अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिस्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए ।

अध्यक्ष दाहालले भने, ‘म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु, अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन ।’

कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए । उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए ।

अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए । उनले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताए ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताए ।

प्रतिक्रिया