शनिबार, जेठ ४, २०८२

बीपीमा भएको अनियमितताबारे छानबिन आयोगले प्रधानमन्त्रीलाई बुझायाे प्रतिवेदन

नेपालखोज २०७८ कार्तिक २६ गते १४:०२

काठमाडाैं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको सातादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताए ।

उनले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरुलाई छलफल गरेर बनाइएको बताए । स्वास्थ्यमन्त्री खतिवडाले साता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताए । उनले सिनेटले प्रतिवेदनमा पेस भएको कुरालाई आधार मानेर नै निर्णय लिने पनि बताए ।

स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई छन् ।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलन थप चर्किंदै गएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया