शनिबार, जेठ ४, २०८२

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन

नेपालखोज २०७८ कार्तिक २७ गते ७:४८

कैलाली । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो ।

आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो ।

उहाँले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए ।

कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।

प्रतिक्रिया