शुक्रबार, जेठ ३, २०८२

कोभिडविरुद्धको खोपमा बारम्बार सोधिने प्रश्न (?)

नेपालखोज २०७८ कार्तिक २८ गते ११:४१

काठमाडौं । के कोभिड-१९ विरुद्धको खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नुपर्छ ?
कोरोनाविरुद्धको खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरू- दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।

के यो खोप लिएपछि फेरि कोरोना भाइरसको संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केही व्यक्तिमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भए पनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग दुई मिटर दूरी कायम गर्ने तथा बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई निरन्तरता दिनुपर्छ ।

के कोरोना लागेर निको भएकाहरुले पनि यो खोप लगाउनुपर्छ ?
पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकाले पनि सबैले खोप लगाउनुपर्छ ।

यो खोप कसले लगाउनु हुँदैन ?
-यो खोपको पहिलो मात्रा लिएपछि गम्भीर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले
-यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भीर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएकाहरुले
-गर्भवती महिलाहरूले
-यसका साथै १८ वर्षमुनिका बालबालिकाले उनीहरुका लागि सुनिश्चित गरिएको खोप मात्र लगाउनुपर्छ ।

कुन-कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?
-दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सोसम्बन्धी रोग, मिर्गौला रोग, मधुमेह (सुगर) सिकलसेल एनिमिया र क्यान्सर रोग भएका
-रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमी गर्ने औषधि सेवनकर्ताहरू
-एचआईभी भएकाहरुले
यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ?
पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । यो खोपको पहिलो मात्रा लगाएको आठ साता पूरा भएपछि १२ साताभित्र दोस्रो मात्रा लगाउनुपर्छ ।

यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपका कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने कुरा अझै पनि राम्रोसँग यकिन भएको छैन ।

के यो खोपले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ ?
पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।

यो खोप लगाएपछि के-कस्ता असरहरू देखिन सक्छन् ?
कोभिड-१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि छन् । यस्ता सामान्य असरहरू विस्तारै ठीक भएर जान्छन् ।

यो खोप कत्तिको सुरक्षित छ ?
सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।
स्रोत : युनिसेफ

प्रतिक्रिया