शनिबार, वैशाख १३, २०८२

‘तपाईं त्यही गर्नुहुन्छ, जे जरुरी छ’

नेपालखोज २०७८ कार्तिक २९ गते ६:१५

प्रश्न : जब मानिसहरू सेवाको बारेमा आफ्नो अनुभव सुनाउँछन्, तीमध्ये अधिकांशको भनाइ यो हुन्छ कि सेवाले उनीहरूलाई भरपूर आनन्द र तृप्ति प्रदान गर्छ । कृपया यसलाई हाम्रो निम्ति अझ स्पष्ट गर्न सक्नुहुन्छ ?

सद्‌गुरु : संसारमा कसैको निम्ति उपयोगी नबनीकन पनि म आनन्दित रहन सक्दछु । तर, अधिकांश मानिसहरू यसरी रहन सक्दैनन् । उनीहरूमा केही न केही गर्नुपर्ने आवश्यकता हुन्छ, अन्यथा उनीहरू कतै हराए जस्तो वा जीवन व्यर्थ भए जस्तो महसुस गर्छन् । यदि मानिसहरूमा केही पाउने आशामा नभई आफूलाई अभिव्यक्त गर्नको निम्ति काम गर्ने सम्भावना नहुने हो भने, उनीहरू प्रसन्न र आनन्दित रहिरहन सक्दैनन् । अतः आध्यात्मिक प्रक्रियाको एउटा अंशको रूपमा हामीले तपाईंहरूलाई केही गर्ने अवसर प्रदान गरिरहेका छौँ, जहाँ त्यो काम तपाईंसँग सम्बन्धित हुँदैन- तपाईं त्यही गर्नुहुन्छ, जे जरूरी छ । तपाईं आनन्दित हुनुहुन्छ, त्यसैले केही गर्नुहुन्छ । खुसी खोज्ने प्रयत्नमा वा स्वर्गको टिकट किन्ने मनसायले काम गरिएको होइन । त्यही गर्नुहोस्, जे आवश्यक छ- त्यसबाट के परिणाम निस्कन्छ भन्ने कुराको चिन्ता नगर्नुहोस् । यसले आध्यात्मिक प्रक्रियाको मार्गलाई अनेक रूपमा सिधा र सहज बनाउँछ ।

मैले यस्ता कैयौँ मानिसहरूलाई देखेको छु, जो भाव स्पन्दन जस्तो कार्यक्रममा सहभागीको रूपमा आउँदा आफूलाई पूरै समर्पित गर्न सकेका हुँदैनन् । तर, पछि स्वयंसेवकको रूपमा आउँदा, जब आफूलाई सही अर्थमा समर्पित गर्दछन्, उनीहरूको अनुभवको उडान निकै माथि पुग्छ । कार्यक्रममा उनीहरूले खासै केही अनुभव गर्न नपाए तापनि, उनीहरू सेवा गर्न आउँदा उनीहरूको अनुभव पूर्ण रूपमा बदलिएको हुन्छ ।

तसर्थ, हामी निरन्तर यो कुरामा ध्यान दिइरहेका छौँ कि मानिसहरूभित्र हुने आध्यात्मिक आयामलाई क्रियाकलापमार्फत उजागर गर्ने सम्भावनाहरू सिर्जना गर्न सकियोस्, ताकि अरू मानिसहरू समेत यो वास्तविकताको आनन्द लिन सकून् ।

प्रतिक्रिया