नेपालबाट समुद्रसम्म अप्टिकल फाइबर जोड्ने, घट्ला त इन्टरनेटको मूल्य ?

नेपालखोज २०७८ कार्तिक २९ गते १२:१६

काठमाडौं । नेपालले समुद्रसम्म सीधा पहुँच स्थापित गरेर इन्टरनेट गरिद गर्ने तयारी गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट खरिद गर्ने व्यवस्था गर्न एक अध्ययन सम्पन्न भएको भइसकेको छ ।

भूपरिवेष्टित नेपालले हालसम्म छिमेकी भारत र चीनबाट इन्टरनेट खरिद गर्दै आएको छ । समुद्रसम्म अप्टिकल फाइबर जडान गर्न सकेको अवस्थामा नेपाललाई धेरै फाइदा मिल्ने बताइन्छ ।

पछिल्लो अध्ययनका अनुसार छिमेकी राष्ट्रका कुनै प्रदायकसँग ‘डार्क कोर’ फाइबर भाडामा लिएर पनि अघि बढ्न सकिने देखाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

त्यसका लागि सीमावर्ती क्षेत्रमा नेपालकै भूभागमा ‘केबल ल्यान्डिङ’ स्टेसनहरू स्थापना गरेर अप्टिकल फाइबरको सञ्जाल व्यवस्थित गर्न सुझाव दिइएको उनले बताए ।

आफ्नै इन्टरनेट मार्ग स्थापना हुनुको ठूलो फाइदा भनेको सुरक्षात्मक दृष्टिकोणबाट इन्टरनेट सशक्त हुने अधिकारीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय सञ्जालमा सीधा आबद्ध हुँदा यसका फाइदाहरू निकै धेरै रहने भए पनि ग्राहकहरूले महसुस गर्ने गरी इन्टरनेटको गतिमा त्यति ठूलो भिन्नता भने हुँदैन ।

नेपालले आफ्नै अप्टिकल फाइबर नेटवर्कबाट आयात गर्ने सम्भाव्यताले इन्टरनेट शुल्क घट्न सक्ने विषयमा कतिपयलाई आशावादी बनाएको पाइन्छ ।

तर अहिले नै मूल्यमा पर्न सक्ने प्रभावको आकलन भने भई नसकेको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया