‘पार्टी सभापतिको घरमा बैठक राख्ने हो भने कार्यालय भवनको के काम’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार (हिजो) केन्द्रिय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाएका हुन् ।
नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए । उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे । नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिए ।
नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे । उनले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गरे । उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए ।

प्रतिक्रिया