चालक अनुमतिपत्रका लागि तीन सातामा ४ लाखकाे आवेदन

काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामा नै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालु नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झन्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।
कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झन्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।
गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’
वि.सं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागु गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।
प्रतिक्रिया